नवदिप एकेडेमीमा कक्षा सजावट कार्यक्रम सम्पन्न, विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर
वीरगञ्ज , १० असार
वीरगञ्ज महानगरपालिका–भिस्वास्थित नवदिप एकेडेमी स्कुलमा बुधबार कक्षा सजावट (क्लास डेकोरेशन) कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्ना कक्षाकोठालाई आकर्षक ढंगले सजाउँदै शैक्षिक सामग्री, सिर्जनात्मक प्रस्तुति तथा कलात्मक प्रतिभा प्रदर्शन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विभिन्न कक्षाको अवलोकन गर्दै विद्यार्थीहरूको प्रतिभा, रचनात्मकता तथा प्रस्तुतीकरणबाट आफू प्रभावित भएको बताउनुभयो। उहाँले सबै विद्यार्थीहरूले उत्कृष्ट ढंगले कक्षा सजावट गरेकाले नतिजा निर्धारण गर्न निकै कठिन भएको उल्लेख गर्दै सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष चौधरीले विद्यार्थीभित्र रहेका विविध क्षमता र सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै, कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा विद्यालयकी प्रधानाध्यापक तथा सञ्चालिका शुशिला साहप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने अभिभावकहरूप्रति पनि आभार प्रकट गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेलले कक्षाकोठाहरूको अवलोकनपछि विद्यार्थीहरूको मेहनत र सिर्जनशीलताको प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थीहरूसँग विभिन्न विषयमा संवाद गर्दै यस्ता कार्यक्रमले उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता तथा प्रस्तुतीकरण सीपको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफूहरूले तयार पारेका सजावट, शैक्षिक सामग्री तथा विभिन्न विषयवस्तुको व्याख्यासमेत प्रस्तुत गरेका थिए।
प्रतियोगिताअन्तर्गत जुनियरतर्फ एलकेजी ‘ए’ प्रथम, नर्सरी ‘ए’ द्वितीय तथा यूकेजी ‘ए’ तृतीय भएका छन्। त्यसैगरी निम्न माध्यमिकतर्फ कक्षा ३ ‘ए’ प्रथम, कक्षा १ ‘ए’ द्वितीय तथा कक्षा २ ‘ए’ तृतीय स्थान हासिल गरेका छन्। माध्यमिकतर्फ कक्षा १० प्रथम, कक्षा ९ द्वितीय तथा कक्षा ८ तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ।
विद्यालयकी प्रधानाध्यापक शुशिला साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा क्रियाशील युवा पत्रकार मञ्चका महासचिव राकेश साह, देश मधेश डटकमका सञ्चालक अभिलाष गुप्ता, रेस खबर डटकमका सन्तोष कुशवाहालगायत पत्रकार, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




