मधेश प्रदेशमा रोजगारदाता र रोजगार खोज्नेबीच समन्वय गर्न रोजगार मेला–२०८२ आयोजना हुने
वीरगञ्ज, १२ असार
मधेश प्रदेशमा रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रभावकारी समन्वय स्थापना गर्ने उद्देश्यले रोजगार मेला–२०८२ आयोजना गरिने भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको रोजगार सेवा केन्द्र सशक्तीकरण परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज महानगरपालिका, लिडरसिप डेभलपमेन्ट इन्स्टिच्युट र एचआर सोसाइटी नेपाल–मधेश च्याप्टरको सहकार्यमा मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका थिए। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवलाल पाल, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालका सहनिर्देशक हरि पौडेल लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, रोजगारदाता संस्था, रोजगार सेवा केन्द्र, तालिम प्रदायक संस्था तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
आयोजकका अनुसार रोजगार मेला मधेश प्रदेशमा गरिएको सीप आवश्यकता मूल्याङ्कन (Skill Need Assessment) तथा श्रम बजार विश्लेषणका निष्कर्षका आधारमा सञ्चालन गरिनेछ। मेलाले रोजगारदाताको जनशक्ति आवश्यकता र रोजगारी खोज्ने व्यक्तिको सीप तथा क्षमताबीचको दूरी घटाउँदै रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
अध्ययनले उद्योग, व्यापार, सेवा, यातायात तथा प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग रहेको देखाएको छ। तर आवश्यक सीपयुक्त जनशक्ति अभाव, रोजगारसम्बन्धी सूचनामा सीमित पहुँच, तालिम र श्रम बजारको मागबीचको अन्तर तथा रोजगार सेवा प्रणालीको कमजोरीका कारण रोजगारदाता र रोजगार खोज्ने दुवै पक्षले चुनौती भोगिरहेका छन्।
मेलामार्फत रोजगारदाता संस्था, रोजगार खोज्ने व्यक्ति, रोजगार सेवा केन्द्र तथा तालिम प्रदायक संस्थालाई एउटै मञ्चमा ल्याई रिक्त पदको जानकारी, आवेदन दर्ता, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार तालिमका लागि सिफारिस गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ। साथै, रोजगारदाता, रोजगार खोज्ने युवा, सञ्चारमाध्यम र सम्बन्धित सबै सरोकारवालालाई रोजगार मेलामा सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




