सत्य, निष्पक्ष र विश्वसनीय

बारामा लागुऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न

न्युज डेस्क
२०८३ असार १२, शुक्रबार २०:२०

बारा, १२ असार
“लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६” को अवसरमा बारामा सञ्चालन गरिएको सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेक्वा बाराको समन्वय एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको संयोजकत्वमा आयोजित कार्यक्रमअन्तर्गत बिहान कलैया बजार क्षेत्रमा प्रभातफेरी निकालिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा लागुऔषध दुरुपयोग नियन्त्रण, रोकथाम तथा जनचेतना अभिवृद्धिका विषयमा छलफल तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिल्वाल, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख उपअनुसन्धान निर्देशक सरोज निरौला, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, मनकामना कलेजका प्राचार्य रामबाबु कुशवाहालगायत प्रहरी कर्मचारी, शिक्षक, विद्यार्थी, बाल क्लब तथा बाल सञ्जालका पदाधिकारी, बुद्धिजीवी, भद्रभलादमी, सुधार केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

सहभागीहरूले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणका लागि समुदाय, परिवार, शैक्षिक संस्था र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमसँगै सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान औपचारिक रूपमा समापन भएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?