सत्य, निष्पक्ष र विश्वसनीय

समूह १६ को वार्षिक साधारण सभा सम्पन्न, मानव अधिकार संरक्षणमा थप सक्रिय हुने प्रतिबद्धता

न्युज डेस्क
२०८३ असार १३, शनिबार १८:४४

वीरगञ्ज, १३ असार
वीरगञ्जस्थित होटल त्रिशलामा समूह १६ को वार्षिक साधारण सभा (AGM) शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। सभाको अध्यक्षता समूह संयोजक रजनीश झाले गर्नुभएको थियो भने सचिव सुनील महतोले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ मार्गदर्शक राजेश जैन बोथराले स्वागत मन्तव्य व्यक्त गर्दै समूह १६ ले मानव अधिकार, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
सभामा बोर्ड सदस्यहरू ममता यादव, संगीता पटेल, कोषाध्यक्ष मन्नु यादव, सुरेश पारेख, विजय गुप्ता लगायत २० जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
वार्षिक प्रतिवेदनअनुसार समूह १६ ले गत वर्ष मानव अधिकार सचेतना, नेतृत्व विकास, सदस्यहरूबीच सहकार्य अभिवृद्धि तथा विभिन्न सामाजिक गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ। प्रतिवेदनमा समुदायस्तरमा मानव अधिकारसम्बन्धी जनचेतना फैलाउने र सकारात्मक बहसको वातावरण निर्माणमा समूहले उल्लेखनीय भूमिका खेलेको उल्लेख गरिएको छ।
आगामी वर्षका कार्यक्रमबारे जानकारी दिँदै समूह संयोजक रजनीश झाले विद्यालय, कलेज तथा समुदायस्तरमा मानव अधिकार शिक्षा र सचेतनामूलक कार्यक्रमलाई थप विस्तार गरिने बताउनुभयो। विशेषगरी युवापुस्तामा मानव अधिकार, नागरिक स्वतन्त्रता तथा सामाजिक उत्तरदायित्वबारे ज्ञान अभिवृद्धिका लागि विशेष पहल गरिने उहाँको भनाइ थियो।
सभामा नागरिक स्वतन्त्रताको क्षेत्र (Civil Space), यातना (Torture) तथा हिरासतमा हुने मृत्यु (Custodial Death) जस्ता गम्भीर मानव अधिकारका विषयमा विस्तृत छलफल गरिएको थियो। यस्ता घटनाको रोकथाम, पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव अधिकार संरक्षणका लागि प्रभावकारी रूपमा आवाज उठाउने विषयमा सदस्यहरूले आफ्ना धारणा राखेका थिए। साथै, सचेतना अभियान, संवाद कार्यक्रम, अनुसन्धान तथा वकालतमार्फत मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसै अवसरमा समूह १६ प्रति पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै पत्रकार अभिलाष कुमार गुप्तालाई मायाको चिनो (Token of Love) प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूले मानव अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा नागरिक स्वतन्त्रताको सुदृढीकरणका लागि आगामी वर्ष अझ प्रभावकारी ढंगले कार्य गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। सभाले आगामी कार्ययोजनासमेत पारित गरेको समूहले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?