कार्यशाला कि औपचारिकता? हैजा जोखिमबीच गोष्ठी, जनतासम्म सूचना कहिले?
– दिपेन्द्र बि.सी.
वीरगञ्ज , १३ असार
नारायणी अस्पताल, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा हैजा पूर्वतयारीसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा हैजा नियन्त्रण, पूर्वतयारी, समन्वय र रणनीतिबारे व्यापक छलफल भएको बताइए पनि यसको प्रत्यक्ष प्रभाव जोखिममा रहेका समुदायसम्म कति पुग्यो भन्ने प्रश्न उठ्न थालेको छ।

हैजा जस्तो जलजन्य रोगको जोखिम अझै कायम रहेको अवस्थामा होटलमा सीमित सरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि र सरोकारवालाबीच हुने छलफलले मात्रै जनस्वास्थ्यको चुनौती समाधान हुन्छ कि हुँदैन भन्ने विषयमा स्थानीयवासीले चासो व्यक्त गरेका छन्।
स्थानीयको भनाइअनुसार, जोखिममा रहेका बस्तीका नागरिकले अझै पनि सुरक्षित खानेपानी, सरसफाइ र हैजाबाट बच्ने उपायबारे पर्याप्त जानकारी पाएका छैनन्। “होटलमा गोष्ठी गर्नेभन्दा जोखिमयुक्त क्षेत्रमा जनचेतनामूलक अभियान, घरदैलो कार्यक्रम र सुरक्षित खानेपानीको व्यवस्था प्रभावकारी हुने थियो,” भन्ने धारणा धेरैको छ।

असार महिनामा बजेट खर्च गर्ने चापका बीच यस्ता कार्यशाला र गोष्ठीहरू वास्तविक उपलब्धिभन्दा औपचारिकतामा सीमित हुने गरेका हुन् कि भन्ने प्रश्न पनि उठ्न थालेको छ। यद्यपि, यस विषयमा आयोजक संस्थाहरूले कार्यक्रमको उद्देश्य अनुभव आदानप्रदान, योजना निर्माण र समन्वय सुदृढ गर्नु रहेको बताएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार, हैजा नियन्त्रणका लागि गोष्ठी आवश्यक भए पनि त्यसको निष्कर्ष समुदायस्तरसम्म पुग्नुपर्छ। अन्यथा होटलभित्र भएका छलफल कागजमै सीमित हुने र जोखिममा रहेका नागरिकले अपेक्षित लाभ नपाउने अवस्था रहन सक्छ।
स्थानीय सरोकारवालाले अब यस्ता कार्यक्रमसँगै जोखिमयुक्त बस्तीमा जनचेतना, सुरक्षित खानेपानी, सरसफाइ र द्रुत स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




