वीरगञ्ज पब्लिक कलेजको रजत जयन्ती तथा २५औँ शैक्षिक वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
- दिपेन्द्र बि.सी.
वीरगञ्ज, १३ असार
वीरगञ्ज पब्लिक कलेजले आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ शैक्षिक वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शिक्षाविद्, उद्योगी–व्यवसायी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा आयोजित समारोहमा कलेजको २५ वर्षे शैक्षिक यात्रा, उपलब्धि तथा भावी योजनाबारे चर्चा गरिएको थियो।

कलेजका संस्थापक एवं प्राध्यापक डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, डा. विनय श्रेष्ठ, विनयकुमार ठाकुर, बासु कर्ण, युगुल प्रसाद, प्रदीप अर्याल, देवेश गुप्ता, मधु राणा, उषा साह, विजय कुमार, गणेश क्षेत्री, ओमकुमार झा, रमेश शर्मा र सौराज प्रधानलगायतको उपस्थिति रहेको थियो। कलेजका चेयरम्यान संकल्प शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बासु कर्णले २५ वर्षको यात्रामा कलेजप्रति विश्वास गर्ने अभिभावक, विद्यार्थी, शिक्षक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन कलेजका निर्देशक डा. अर्बिन्द श्रेष्ठले गर्नुभएको थियो।
प्रमुख अतिथि पशुपति विक्रम शाहले वीरगञ्ज पब्लिक कलेजले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै कलेजले शैक्षिक प्रमाणपत्रसँगै नैतिकता, अनुशासन र नेतृत्व क्षमता भएका दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो।
उहाँले निजी शैक्षिक संस्थाहरूले आधुनिक, व्यावहारिक तथा प्रविधिमैत्री शिक्षामार्फत देशका लागि सक्षम नागरिक तयार पार्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि वीरगञ्ज पब्लिक कलेजले आफ्नो उत्कृष्ट शैक्षिक परम्परालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा कलेजका संस्थापक डा. दीपक शाक्यले २५ वर्षअघि सीमित स्रोत–साधनबाट सुरु भएको कलेज आज यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो। उहाँले यो सफलता शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वासको परिणाम भएको उल्लेख गर्नुभयो।
डा. शाक्यले बदलिँदो समयअनुसार अनुसन्धानमुखी, सीपमूलक तथा प्रविधिमा आधारित शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यका साथ कलेज अघि बढिरहेको जानकारी दिनुभयो। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, शैक्षिक उत्कृष्टता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कलेजलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा कलेजको २५ वर्षे शैक्षिक यात्राको समीक्षा, योगदानकर्ता व्यक्तित्वहरूको सम्मान, सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न भएका थिए। रजत जयन्ती समारोहले विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक तथा शुभेच्छुकहरूबीच उत्साह, गौरव र अपनत्वको वातावरण सिर्जना गरेको कलेजले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




