धनकुटामा ७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ
२०८३ असार १५, सोमबार ०९:०४
धनकुटा, १५ असार
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गबाट प्रहरीले ७७५ किलोग्राम गाँजासहित एक मिनी ट्रक चालकलाई पक्राउ गरेको छ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले नियमित जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेर कालो प्लास्टिकमा लुकाइ राखिएको ७७५ किलोग्राम गाँजा बरामद गरेको हो।
पक्राउ पर्ने चालक धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजा, मिनी ट्रक तथा चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




