वीरगन्जमा २३औँ राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो
वीरगन्ज, १५ असार
वीरगन्ज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।
वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खेतमै पुगेर धान रोपाइँको शुभारम्भ गरिएको थियो। सो अवसरमा कार्यवाहक नगर प्रमुख आलमले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्दै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले किसानलाई आधुनिक कृषि प्रविधिमा पहुँच पुर्याई कृषिमा आत्मनिर्भर बनाउन महानगरपालिकाले विशेष प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले खेतमा सामूहिक रूपमा धान रोप्नुका साथै असार १५ को परम्पराअनुसार दही–चिउरा खाएर शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ राष्ट्रिय धान दिवस मनाएका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




