सत्य, निष्पक्ष र विश्वसनीय

ट्राफिक नियम उल्लंघनः मुख्यमन्त्री शाहलाई ५ सय जरिवाना

न्युज डेस्क
२०८३ असार १८, बिहीबार १३:०७

धनगढी , १८ असार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाई मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले उनलाई ५ सय रुपैयाँ जरिवाना गरेको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरभित्र हेल्मेटबिना बुलेट मोटरसाइकल चलाइरहेको देखिएका छन्।

ट्राफिक नियम उल्लंघन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले मुख्यमन्त्री शाहको सरकारी निवासमै पुगेर पाँच सय रुपैयाँ जरिवानाको चिट काटेको जनाएको छ।

मुख्यमन्त्री शाह लामो समयदेखि नसासम्बन्धी समस्याबाट प्रभावित छन्। उनी वैशाखीको सहारामा हिँड्दै आएका छन्। सरकारी निवास परिसरमा मोटरसाइकल चलाउने प्रयासका क्रममा उक्त भिडियो खिचिएको बताइएको छ।

यस घटनापछि ट्राफिक नियम सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?