वीरगन्ज महानगरको आकस्मिक छापा, बालबालिकाको पार्कमा हुक्का बार सञ्चालन
वीरगन्ज, १८ असार
बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार भइरहेको सूचना पाएपछि वीरगन्ज महानगरपालिकाले आकस्मिक अनुगमन गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा बुधबार वडा नम्बर–४ स्थित शङ्खधर साख्वा (चिल्ड्रेन) पार्कभित्र सञ्चालित दियास हस्पिटालिटी प्रा.लि. मा नगर प्रहरी, महानगरको अनुगमन टोली तथा स्थानीय साक्षीहरूको रोहवरमा छापा मारिएको थियो।

अनुगमनका क्रममा प्रोप्राइटर दिपिका क्षेत्री रहेको उक्त व्यवसायको स्टोरबाट लुकाइराखिएको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड तथा १७ प्याकेट विभिन्न फ्लेभरका हुक्का तथा सुर्तीजन्य पदार्थ फेला परेका थिए। बरामद गरिएका सबै सामग्री महानगरपालिकाले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै कार्यवाहक नगरप्रमुख आलमले बालबालिकाको स्वास्थ्य र भविष्यसँग जोडिएको पार्कजस्तो संवेदनशील क्षेत्रमा हुक्का तथा सुर्तीजन्य पदार्थको भण्डारण र कारोबार हुनु अत्यन्त निन्दनीय भएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता गतिविधिमा संलग्न जोसुकै व्यक्ति वा व्यवसायलाई कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट चेतावनी दिनुभयो।

महानगरका अनुसार सम्बन्धित व्यवसायको दर्ता तथा नवीकरण प्रक्रिया भने नियमित रहेको पाइए पनि सार्वजनिक पार्क क्षेत्रमा प्रतिबन्धित सुर्तीजन्य तथा हुक्काजन्य सामग्री भण्डारण र बिक्री–वितरण गरेको पाइएकाले कानुनी दायरामा ल्याइएको हो।
वीरगन्ज महानगरपालिकाले आगामी दिनमा पनि पार्क, विद्यालय तथा अन्य सार्वजनिक क्षेत्र वरपर हुने यस्ता गैरकानुनी गतिविधिविरुद्ध बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




