मकवानपुरमा १०९ किलो गाँजासहित दुई पक्राउ
२०८३ असार ३१, बुधबार ०९:३८
मकवानपुर , ३१ असार
मकवानपुरमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७, किरानचोकका ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका–८, सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीपलाई जाँच गर्ने क्रममा १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीले जीपको पछाडिको भागमा त्रिपालले लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ। बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




