कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सर्लाही, मलंगवा , ३१ असार
जिल्ला प्रहरी कार्यालय सर्लाहीले कटुवा पेस्तोल र गोलीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २९ गते बिहान करिब ११:४० बजे मलंगवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल जाने बाटोमा रहेको एक सैलुनमा कटुवा पेस्तोल लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा सैलुनभित्र रहेको कुर्सीमाथि कालो प्लास्टिकको झोलाभित्र राखिएको ‘2 IN 1 VACUUM CLEANER’ लेखिएको बक्सबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारत, बिहार राज्य, सितामढी जिल्लाका रोशन कुमार र महमद अबुबकरलाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले बरामद गरिएको हतियारको स्रोत तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




