काठमाडौंमा ठूलो परिमाणको लागूऔषध बरामद, १५ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
काठमाडौं, ३ साउन
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो निवासी ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा अनिल देउलालाई ५० बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिएको हो। घटनास्थलबाट उनले प्रयोग गरिरहेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत बरामद गरिएको छ।
त्यसैगरी देउला बस्दै आएको कोठामा गरिएको खानतलासीका क्रममा १ हजार १८८ वटा डाइजापाम तथा फेनरागन ट्याब्लेट, ३ हजार ७७० वटा ट्रामाडोल र १५० वटा पोलेन बरामद गरिएको प्रहरीले जनाएको छ। सोही क्रममा सुमित्रा राईलाई पनि पक्राउ गरिएको हो।
प्रहरीले कोठाबाट १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र तीन थान मोबाइल सेट समेत बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध, नगद, स्कुटर तथा मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





