जीवन ज्योति बोर्डिङ स्कुलमा रोटरी क्लबको पदस्थापन समारोह सम्पन्न
वीरगञ्ज, ३ साउन
जीवन ज्योति बोर्डिङ स्कुलमा रोटरी क्लबको पदस्थापन तथा पद हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष इ. अनुराग साह (२०२६–२७) को पदस्थापन समारोहमा रोटरी क्लब अफ मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद कलवार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि कलवारले पद केवल जिम्मेवारीको प्रतीक मात्र नभई समाज रूपान्तरण गर्ने अवसरसमेत भएको बताउनुभयो। रोटरी विशुद्ध सामाजिक सेवामा समर्पित संस्था भएकाले यसमा व्यक्तिगत लोभ–लाभको कुनै स्थान नरहेको उल्लेख गर्दै उहाँले व्यक्तित्व विकाससँगै समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय रूपमा विस्तार हुँदै गएको रोटरी अभियानमा विद्यार्थीहरूको सहभागिता सकारात्मक रहेको उल्लेख गर्दै उहाँले नवनिर्वाचित पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले नवनिर्वाचित अध्यक्ष इ. अनुराग साहको नेतृत्वमा रहेको सम्पूर्ण कार्यसमितिलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै सामाजिक सेवामा समर्पित हुन सुझाव दिनुभयो। यस अवसरमा निवर्तमान अध्यक्ष सिद्धि कर्णले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

समारोहको समापन गर्दै विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवा भावको विकास गर्ने उद्देश्यले विद्यालयमा रोटरी क्लब गठन गरिएको बताउनुभयो। क्लबमार्फत विद्यार्थीहरूले व्यक्तिगत विकाससँगै समाजमा रहेका विकृति–विसंगति हटाउन र सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि राजकिशोर प्रसाद कलवार र प्रिन्सिपल शिवजी गुप्ताले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभयो। साथै, निवर्तमान अध्यक्ष सिद्धि कर्णले वर्तमान अध्यक्ष इ. अनुराग साहलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको थियो।
समारोहमा रोटेरियन राकेश मिश्र, निखिल गुप्ता, रामविनय यादव, संगम पण्डित, सौरभ बर्नवाल, डा. प्रीति गुप्ता, मोहम्मद उमर देवान, कनहैया गुप्ता, अशुत चौधरी लगायत अन्य रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





