कार्यवाहक नगर प्रमुख आलमको पहलमा ४ वर्षदेखि बन्द सबैठवाको नाला २ दिनमै खुल्यो
वीरगञ्ज, ३ साउन
वीरगञ्ज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण बन्द रहेको ढल निकास (होम पाइप) कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा खुलाइएको छ।
वर्षाको पानी निकास नहुँदा सामान्य वर्षामै सडक र बस्ती जलमग्न हुने तथा स्थानीयवासीले दैनिक सास्ती भोग्नुपर्ने अवस्था रहेको थियो। लामो समयदेखि जाम रहेको होम पाइपका कारण समस्या झन् जटिल बनेपछि स्थानीयले कार्यवाहक नगर प्रमुख आलमसमक्ष नाला खुलाइदिन निवेदन दिएका थिए।
जनगुनासो प्राप्त हुनासाथ कार्यवाहक नगर प्रमुख आलमले महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए। निर्देशनपछि सरसफाइ शाखाको टोली नगर प्रहरीसहित घटनास्थल पुगेर जेसीबी र स्विपरको प्रयोग गरी बन्द रहेको होम पाइप खुलाएको महानगरपालिकाले जनाएको छ।
चार वर्षदेखि समाधान हुन नसकेको विवादित नाला दुई दिनभित्रै खुलाइएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले कार्यवाहक नगर प्रमुख आलमको सक्रियता र निर्णय क्षमताको प्रशंसा गर्दै समयमै पहल भएको भए समस्या पहिले नै समाधान हुने बताएका छन्।
स्थानीयका अनुसार अब वर्षायाममा पानी जम्ने र आवतजावतमा हुने समस्या धेरै हदसम्म हट्ने विश्वास गरिएको छ। महानगरपालिकाले पनि आवश्यक स्थानमा यस्तै समस्या समाधानका लागि निरन्तर अनुगमन र सरसफाइ अभियानलाई तीव्रता दिने जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





