सत्य, निष्पक्ष र विश्वसनीय

बालकलाई बचाउने क्रममा अटो दुर्घटना, चालकसहित ६ जना घाइते

न्युज डेस्क
२०८३ श्रावण ५, मंगलवार ११:३२

नवलपरासी (पश्चिम), ५ साउन
नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बालकलाई बचाउने क्रममा अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ८ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका एक बालकलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक सुस्ता गाउँपालिका–१ निवासी ४५ वर्षीय प्रेमबहादुर जर्घा सहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये चालक र ७० वर्षीय मानबहादुर सिंजालीको अवस्था सामान्य रहेको छ भने १६ वर्षीया दृष्टि सारु मगर, ३८ वर्षीया ललिसरा सारु मगर, ४० वर्षीया अनिता गाहा मगर र १६ वर्षीया निरमा गाहा मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चार जनाको लुम्बिनी सिटी अस्पताल, बुटवलमा तथा दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?