सत्य, निष्पक्ष र विश्वसनीय

जानकी मन्दिर प्रवेशअघि हर्क साम्पाङको विरोध, सुरक्षा व्यवस्था कडा ‘मन्दिर प्रवेश नगरी फर्किए’

न्युज डेस्क
२०८३ श्रावण ५, मंगलवार १४:१७

जनकपुरस्थित जानकी मन्दिर परिसरमा हर्क साम्पाङको भ्रमणलाई लिएर तनाव उत्पन्न भएपछि सुरक्षा व्यवस्था कडा पारियो। विरोधका बीच साम्पाङ मन्दिर प्रवेश नगरी फर्किए भने उनका समर्थक र विरोधी पक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।

जनकपुरधाम, ५ साउन
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरधामस्थित जानकी मन्दिर भ्रमण आइतबार विवाद र तनावबीच प्रभावित भएको छ। हिन्दू सम्राट सेनाको विरोधका कारण मन्दिर परिसरमा साम्पाङका समर्थक र विरोधी पक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिएको जनाएको छ।

प्रहरीका अनुसार साम्पाङ बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच भनाभन तथा धकेलाधकेल भएको थियो। सम्भावित झडप हुन सक्ने अवस्था देखिएपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको र सार्वजनिक शान्ति तथा सुरक्षालाई प्राथमिकतामा राखेर साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिएको जनाएको छ।

हिन्दू सम्राट सेनाले यसअघि नै हर्क साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको तथा विगतमा गाईबारे दिएको अभिव्यक्तिको विषय उठाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो। सोही कारण मन्दिर क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै “जनकपुरमा तनाव तर गृहमन्त्रीको फोन अफ” लेखेका छन्। त्यसपछि उनले अर्को स्टाटसमा “गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !” भन्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।

यसअघि साम्पाङको स्वागतका लागि जानकी मन्दिर पुगेका श्रम संस्कृति पार्टीका केही नेता तथा कार्यकर्तालाई हिन्दू सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट लखेटेको दाबी पनि गरिएको छ। यद्यपि उक्त घटनाबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

घटनापछि जानकी मन्दिर क्षेत्र केही समय तनावग्रस्त बने पनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस घटनाले धार्मिक स्थलमा राजनीतिक विवाद प्रवेश गराउने विषय तथा सार्वजनिक सुरक्षा व्यवस्थापनबारे नयाँ बहससमेत सुरु गराएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?