सत्य, निष्पक्ष र विश्वसनीय

रोटरीद्वारा चार जनालाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण

न्युज डेस्क
२०८३ श्रावण १५, शुक्रबार १०:४४

वीरगञ्ज, १५ साउन
रोटरी डायग्नोस्टिक सेन्टर वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रअन्तर्गतको रोटरी कृत्रिम हात परियोजनामार्फत चार जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण गरिएको छ।

वीरगञ्ज महानगरपालिका–४, नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरमा बिहीबार आयोजित कार्यक्रममा पाल्पा र पोखराबाट आएका चार जनालाई कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको हो।

परियोजनाका संयोजक डा. शाश्वत प्रसादका अनुसार सन् २०२१ देखि सञ्चालनमा रहेको परियोजनामार्फत हालसम्म १ हजार १ सयभन्दा बढी व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइसकिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएका व्यक्तिलाई कृत्रिम अंग उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चालन भइरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा कृत्रिम अंग प्राप्त गर्नेहरूमध्ये पूर्व भारतीय सेनाका दिलबहादुर बुढाथोकीले भारत–पाकिस्तान सीमामा ड्युटीका क्रममा एम्बुसमा परी खुट्टा गुमाएको बताउनुभयो। त्यस्तै, वसन्तबहादुर र माधव डिसाले दुर्घटनामा क्रमशः खुट्टा र हात गुमाएका थिए भने रुकबहादुरले पनि दुर्घटनामा खुट्टा गुमाएका थिए।

निःशुल्क कृत्रिम हात तथा खुट्टा प्राप्त गरेपछि चारै जनाले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै यसले आफूहरूलाई पुनः सामान्य जीवनतर्फ फर्किन ठूलो सहयोग पुगेको बताएका छन्।

कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरीलगायत रोटरी क्लबका सदस्यहरूको उपस्थिति थियो।

रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले हातखुट्टा गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै उनीहरूलाई आत्मनिर्भर र सामान्य जीवनयापनतर्फ फर्काउन योगदान पुर्‍याउँदै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?