सत्य, निष्पक्ष र विश्वसनीय

सद्भाव र्‍यालीपछि वीरगञ्जको घण्टाघरमा तनाव, प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल

न्युज डेस्क
२०८३ श्रावण १५, शुक्रबार १८:१८

वीरगञ्ज , १५ साउन
वीरगञ्जमा शुक्रबार आयोजित सद्भाव र्‍याली सम्पन्न भएको केहीबेरमै घण्टाघर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको हो।

स्थानीय प्रशासन तथा जनप्रतिनिधिको संयुक्त आयोजनामा शान्ति, सामाजिक सद्भाव र आपसी एकताको सन्देशसहित सद्भाव र्‍याली निकालिएको थियो। र्‍याली सकिएलगत्तै हिन्दु समुदायका केही युवाले सुनसरी र सिराहामा भएका घटनाको विरोध गर्दै घण्टाघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए।

प्रदर्शन उग्र बन्न सक्ने अवस्था देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाउँदै प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भए पनि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिएका थिए।

घटनापछि वीरगञ्जका संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न, संयम अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

हाल वीरगञ्जको अवस्था सामान्य बन्दै गएको बताइएको छ। घटनाबारे सुरक्षा निकायले थप निगरानी र आवश्यक अनुसन्धान जारी राखेको प्रहरी जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?