सत्य, निष्पक्ष र विश्वसनीय

बारामा वृहत् सामाजिक सद्भाव र्‍याली, शान्ति र भाइचारा कायम गर्न अपिल

न्युज डेस्क
२०८३ श्रावण १६, शनिबार १६:०८

वीरगञ्ज, १६ साउन
पछिल्ला घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम गर्ने उद्देश्यले बाराको कलैयामा शनिबार वृहत् सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको संयोजनमा आयोजित र्‍याली प्रशासन कार्यालय परिसरबाट सुरु भई कलैया बजारका विभिन्न मुख्य सडक तथा चोकको परिक्रमा गरेको थियो। र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघ–संस्थाका अगुवा, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।

सहभागीहरूले ‘विभेद अन्त्य गरौँ, भाइचारा बढाऔँ’, ‘हाम्रो एकता, देशको विशेषता’, ‘घृणा फैलाउने बन्द गरौँ, सद्भाव बढाऔँ’ र ‘शान्ति नै समृद्धिको आधार’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

र्‍यालीमार्फत जातीय, धार्मिक तथा सामुदायिक सद्भाव बलियो बनाउन, अफवाह, घृणा र हिंसात्मक गतिविधिबाट टाढा रहन तथा आपसी विश्वास र सामाजिक शान्ति कायम गर्न सबै पक्षलाई आग्रह गरिएको थियो।

आयोजकले पछिल्ला घटनाबाट देखिएको असहज अवस्थालाई संवाद, सहिष्णुता र आपसी एकतामार्फत समाधान गर्न सद्भाव र्‍यालीले सकारात्मक सन्देश दिएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?