सत्य, निष्पक्ष र विश्वसनीय

रक्सौलमा सम्पन्न तीनदिने धर्म संसदमा सहभागी भारत र नेपालका सन्त–महात्मा तथा श्रद्धालुहरू

न्युज डेस्क
२०८३ श्रावण १६, शनिबार २०:१६

रक्सौल, १६ साउन
भारतको सीमावर्ती सहर रक्सौलमा गुरु पूर्णिमाको अवसरमा आयोजित तीनदिने धर्म संसद धार्मिक तथा भक्तिमय वातावरणमा सम्पन्न भएको छ। धर्म संसदमा भारत र नेपालका विभिन्न सन्त–महात्मा, अखाडाका प्रतिनिधि तथा ठूलो संख्यामा श्रद्धालुको सहभागिता रहेको आयोजकले जनाएको छ।
धर्म संसदमा सनातन धर्मको संरक्षण, गौसंरक्षण, धार्मिक एकता तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको बताइएको छ।
धर्म संसदका संयोजक जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले कार्यक्रमको उद्देश्य समाजलाई सनातन संस्कृति, आध्यात्मिक मूल्य र राष्ट्रसेवाप्रति जागरूक गराउनु रहेको बताउनुभयो। भारत र नेपालका सन्तहरूको सहभागिताले धार्मिक एकता, सामाजिक सद्भाव तथा मानव कल्याणको सन्देश दिएको उहाँको भनाइ थियो।
काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारीले धर्म संसद धार्मिक कार्यक्रम मात्र नभई सनातन संस्कृति, सामाजिक समरसता तथा भारतीय परम्पराको संरक्षणका लागि प्रभावकारी मञ्च भएको बताउनुभयो। गौसंरक्षण, सांस्कृतिक चेतना तथा राष्ट्रहितसँग सम्बन्धित विषयमा शान्तिपूर्ण र संवैधानिक संवादलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
धर्म संसदबाट भारतलाई हिन्दु राष्ट्र घोषणा गर्न तथा गौमातालाई ‘राष्ट्रमाता’को संवैधानिक मान्यता प्रदान गर्न माग गर्ने प्रस्ताव पारित गरिएको आयोजकले जनाएको छ। साथै सनातन संस्कृति तथा भारतीय परम्पराको संरक्षण र प्रवर्द्धन, धार्मिक चेतनाको अभिवृद्धि तथा संगठनात्मक एकता सुदृढ गर्न आह्वान गरिएको छ।
यसैगरी, जम्मु–कश्मीरबाट धारा ३७० हटाइएको तथा अयोध्यामा श्रीराम मन्दिर निर्माण सम्पन्न भएकोमा भारत सरकारप्रति धन्यवाद प्रस्ताव पारित गरिएको छ। बिहार सरकारसँग गुरुनाथ अखाडालाई आवश्यक सरकारी सुविधा उपलब्ध गराउनसमेत आग्रह गरिएको जनाइएको छ।
धर्म संसदका क्रममा अखाडाको परम्पराअनुसार विभिन्न सन्तलाई नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको बताइएको छ। नेपालका रामसुरत नाथलाई मण्डलेश्वर, अल्टर बाबालाई भारतको सभापति, बुद्धनाथलाई महामन्त्री, नेपालका कलैया निवासी नागा बाबालाई सेनापति प्रमुख तथा गुरुनाथ भोलानाथलाई अखाडाको महन्त नियुक्त गरिएको जनाइएको छ।
तीन दिनसम्म सञ्चालन भएको धर्म संसदको सञ्चालन जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले गर्नुभएको थियो। कार्यक्रममा सहभागी भारत र नेपालका सन्त–महात्माहरूले सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव, आपसी भाइचारा तथा राष्ट्रहितका पक्षमा संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?