बजारमा ग्याँस अभाव भए आयल निगमको हटलाइनमा सम्पर्क गर्न आग्रह
काठमाडौं, १६ साउन
नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको अभाव भए तत्काल हटलाइनमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।
बजारमा ग्याँस अभाव भएको भन्दै गुनासो आउन थालेपछि निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र ०१–५९७१९०२ नम्बरमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको हो।

निगमका अनुसार हाल बजारमा एलपी ग्याँसको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको छ। यद्यपि कुनै स्थानमा उपभोक्ताले सहज रूपमा ग्याँस प्राप्त गर्न नसकेको अवस्थामा हटलाइनमार्फत जानकारी गराए आवश्यक सहजीकरण गरिने निगमले जनाएको छ।
यसैबीच, काठमाडौं उपत्यकामा ग्याँसको माग र आपूर्ति सहज बनाउन निगमले टेकुस्थित कार्यालयबाट उपभोक्तालाई प्रत्यक्ष ग्याँस बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको छ। उक्त सेवा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने निगमले जनाएको छ।
निगमका अनुसार टेकु कार्यालयबाट नेपाल ग्याँस, एचपी ग्याँस, एभरेस्ट ग्याँस, सुगम ग्याँस र श्रीराम ग्याँस उपलब्ध गराइनेछ।
निगमले आम उपभोक्तालाई अनावश्यक रूपमा ग्याँस भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्नसमेत आग्रह गरेको छ। बजारमा ग्याँसको सहज आपूर्ति कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको निगमले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





