वीरगञ्जमा अडानको २१औँ स्थापना दिवस, प्रभातफेरीसँगै पेशागत एकता र आचारसंहितामा जोड
वीरगञ्ज,२० साउन
नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसका अवसरमा अडान पर्साले बुधबार वीरगञ्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। देशभर केन्द्र, प्रदेश तथा जिल्ला तहमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने क्रममा पर्सामा पनि कार्यक्रम गरिएको हो।
कार्यक्रममा पर्सा जिल्लाका लेखापरीक्षक तथा लेखा व्यवसायीहरू वीरगञ्जको घण्टाघरमा भेला भएका थिए। सहभागीहरूले घण्टाघरबाट प्रभातफेरी सुरु गरी भानुचोकको परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर कार्यक्रम सम्पन्न गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियारले लेखापरीक्षकको संख्या घट्दै गएको र पेशालाई कमजोर बनाउने विभिन्न प्रयास भइरहेको बताए। उनले लेखापरीक्षकहरूको पेशागत हकहित, सुरक्षा तथा सम्मानका लागि सबै लेखापरीक्षक एकजुट र सशक्त भएर अघि बढ्नुपर्नेमा जोड दिए।
अर्का केन्द्रीय सदस्य डा. सन्तोष कुमार साहले लेखापरीक्षकहरूलाई बिचौलिया तथा झोले प्रवृत्तिबाट सचेत रहँदै इमानदार, निष्पक्ष र मर्यादित ढंगले पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य प्रदुम्न प्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दिपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता, उमेशचन्द्र यादवलगायत लेखापरीक्षक तथा भिजन टिमको विशेष उपस्थिति रहेको थियो।
सहभागी लेखापरीक्षक तथा अतिथिहरूलाई अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसियाले स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव कुलोत्तम पोखरेलले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष रामबाबु साहले सम्हालेका थिए।
अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष सिंहले नियामक निकायले लागू गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न लेखापरीक्षकहरूलाई आग्रह गरे। उनले आफ्नो हस्ताक्षरको कुनै पनि प्रकारको दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाउनुपर्नेमा समेत जोड दिए।
कार्यक्रममा सहभागी भिजन टिमले लेखापरीक्षकहरूका लागि भेष्ट उपलब्ध गराएकोमा अध्यक्ष सिंहले धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धताका लागि भिजन टिमप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरे।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिताको पालना तथा पेशाको गरिमा संरक्षण गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





