सत्य, निष्पक्ष र विश्वसनीय

भीमफेदीमा स्कार्पियो दुर्घटना, मुख्य न्यायाधीश डाँगीसहित ६ जना घाइते

न्युज डेस्क
२०८३ भाद्र २, मंगलवार १०:३६

हेटौंडा, २ भदौ
मकवानपुरको भीमफेदी गाउँपालिका–६ खजुरीखोलामा स्कार्पियो दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडूसहित चालक दाङको राप्ती गाउँपालिका–८ का ३० वर्षीय सुनीलाल चौधरी, २५ वर्षीया रितेन बडू, २१ वर्षीया रिता बडू र लक्ष्मी बडू घाइते भएका छन्।
प्रहरीका अनुसार लक्ष्मी बडूको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
दुर्घटनापछि प्रहरीले घाइते सबैको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको थियो। उनीहरूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?