नुवाकोटमा बसले ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते
नुवाकोट, २ भदौ
नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा बसले पार्किङमा राखिएको ईभी माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकअगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा काभ्रेपलाञ्चोककी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापकी ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते सुजता पोखरेल, सर्मिला श्रेष्ठ र ज्ञानु श्रेष्ठको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





