सत्य, निष्पक्ष र विश्वसनीय

घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

न्युज डेस्क
२०८३ भाद्र ३, बुधबार १३:४९

वीरगञ्ज, ३ भदौ
वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयअन्तर्गत कक्षा १२ का बिहानी सत्रका विद्यार्थीहरूबीच घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गरी विभिन्न सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न भएको छ।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानसहित शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा विद्यार्थीहरूले आफ्नै हातबाट घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गरी मन्दिर, विद्यालय, कलेज तथा विभिन्न मूर्तिलगायतका आकर्षक सामग्री निर्माण गरेका थिए। विद्यार्थीमा सिर्जनशीलता, व्यवहारिक ज्ञान, मेहनत तथा स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ।
प्रतियोगितामा पूजा मण्डल प्रथम, सोनी शर्मा लोहार द्वितीय र रेनु चौहान तृतीय भएका थिए। उत्कृष्ट स्थान हासिल गर्ने तीनै जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि डा. राम औतार खेतानले मेडल प्रदान गरी सम्मान गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि डा. खेतानले विद्यार्थीहरूमा किताबी ज्ञानसँगै व्यवहारिक तथा सिर्जनात्मक सीपको विकास आवश्यक रहेको बताउनुभयो। सामान्य तथा घरमै उपलब्ध सामग्रीको प्रयोग गरी विद्यार्थीहरूले आकर्षक सामग्री निर्माण गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन यस्ता सिर्जनात्मक कार्यक्रम निकै महत्वपूर्ण हुन्छन्। पढाइसँगै व्यवहारिक ज्ञान, सीप र सिर्जनशीलतालाई प्राथमिकता दिन सके विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्छ।”
कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका सामग्रीको अवलोकन गर्दै शिक्षक तथा अतिथिहरूले उनीहरूको मेहनत र सिर्जनशीलताको प्रशंसा गरेका थिए।
कलेज प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता, प्रतिभा तथा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अतिरिक्त तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?