भन्सार छलीको आरोपमा ८१ ग्राम सुनजस्तो पदार्थसहित एक जना पक्राउ
कैलाली, ३ भदौ
कैलालीमा भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३६ वर्षीय दिपक गौर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले अवैध सुनजस्तो देखिने पदार्थ कारोबारका लागि साथमा बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१ बाट गौरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खानतलासी गर्दा गौरको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद भएको थियो। बरामद पदार्थको मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। बिलमा छाप नरहेको तथा बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि भन्सार छली गरी ल्याएको आशंकामा उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सुनजस्तो पदार्थसहित गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





