बलात्कार तथा जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न जेन जी पर्साको माग
वीरगञ्ज, ४ भदौ
महिला, बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौनजन्य हिंसा तथा जघन्य अपराध नियन्त्रणका लागि मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ।
जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीको नेतृत्वमा बुझाइएको पत्रमा हालै बाराको सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
पत्रमा जेन जी आन्दोलन भ्रष्टाचार, कमिसनखोरी तथा विभिन्न सामाजिक विकृतिविरुद्ध केन्द्रित रहेको उल्लेख गर्दै आन्दोलनपछि नागरिकमा परिवर्तनको अपेक्षा बढेको जनाइएको छ। वर्तमान सरकारसँग नागरिकले सुशासन, सुरक्षा र न्यायका विषयमा ठूलो अपेक्षा राखेकाले महिला तथा बालिकामाथि हुने जघन्य अपराध नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने जेन जी पर्साको माग छ।
जेन जी पर्साले बलात्कारलगायत जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न संविधान संशोधन गरी मृत्युदण्डको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ। त्यसका लागि द्रुत मार्गबाट संविधान संशोधन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरिएको छ।
ध्यानाकर्षण पत्रमा अपराधीहरू कानुनी कारबाहीबाट उम्किने वा राजनीतिक संरक्षण पाउने अवस्था अन्त्य गर्न निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
त्यसैगरी, पर्साका सार्वजनिक स्थल, विद्यालय तथा कार्यक्षेत्रमा महिला, किशोरी र बालिकाको सुरक्षा सुनिश्चित गर्न नियमित सुरक्षा गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिएको छ।
जेन जी पर्साले सिमरामा बलात्कारपछि हत्या गरिएकी बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा समेत पठाइएको जनाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





