सत्य, निष्पक्ष र विश्वसनीय

एक हजार १२२ किलो गाँजासहित उदयपुरबाट तीन जना पक्राउ

न्युज डेस्क
२०८३ भाद्र १५, सोमबार १३:०४

उदयपुर, १५ भदौ
उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट प्रहरीले एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ४ बजे शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले जंगलभित्र खोजतलास गरेको थियो।
खोजतलासका क्रममा प्रहरीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी फेला पारेको थियो। गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–१ डाँडागाउँका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।
प्रहरीले उनीहरूलाई गाँजा र बोलेरो गाडीसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?