बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत अभियान
पर्सा, १५ भदौ
नेपालका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि पतञ्जलि नेपालले २ करोड ११ लाख रुपैयाँ बराबरको राहत तथा मानवीय सहायता अभियान सञ्चालन गरेको छ।
स्वामी रामदेव र आचार्य बालकृष्णको प्रेरणामा अभियान सञ्चालन गरिएको पतञ्जलि नेपालले जनाएको छ। अभियानअन्तर्गत बाढी–पहिरो प्रभावित तथा विस्थापित नागरिकलाई राहत सामग्री वितरण गर्नुका साथै निःशुल्क भोजनको व्यवस्था गरिएको संस्थाले जनाएको हो।
पतञ्जलि नेपालका अनुसार प्रभावित विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सञ्चालन गरी निःशुल्क भोजन वितरण सुरु गरिएको छ। विपत्तिका कारण दैनिक जीवन प्रभावित भएका नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले अभियान अघि बढाइएको संस्थाको भनाइ छ।
संस्थाले आफ्नो मूल दर्शन ‘योग, आयुर्वेद र सेवा’ रहेको उल्लेख गर्दै प्राकृतिक विपत्तिको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु आफ्नो दायित्व भएको जनाएको छ। संकटमा परेका नागरिकलाई भोजन, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने उद्देश्यले अभियान सञ्चालन गरिएको पतञ्जलिले बताएको छ।
योग तथा आयुर्वेदको प्रवर्द्धनसँगै सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्दै आएको पतञ्जलि नेपालको दाबी छ। प्राकृतिक विपत्ति तथा अन्य सामाजिक आवश्यकताका समयमा सहयोग गर्दै आएको संस्थाले यसपटक बाढी–पहिरो प्रभावित समुदायलाई लक्षित गरी राहत अभियान सञ्चालन गरेको हो।
‘नर सेवा नै नारायण सेवा हो’ भन्ने मान्यताबाट प्रेरित भएर मानवीय सेवामा सक्रिय रहेको पतञ्जलि नेपालले जनाएको छ। विपत्तिको समयमा पीडित नागरिकलाई भोजन, राहत र आवश्यक सहयोग उपलब्ध गराउनु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाको भनाइ छ।
पतञ्जलि नेपालले प्रभावित नागरिकलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। संस्थाका अनुसार अभियानको उद्देश्य विपत्तिमा परेका नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउनुका साथै संकटमा रहेका समुदायको मनोबल बढाउनु हो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





