व्यावसायिक ग्यास आपूर्तिमा नयाँ व्यवस्था, होटल व्यवसायी असन्तुष्ट
काठमाडौ, १८ भदौ
नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थामा परिवर्तन गरेपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू असन्तुष्ट बनेका छन्। निगमले काठमाडौं उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यासको नियमित वितरण नगरी व्यवसायी आफैँले तराईस्थित बोटलिङ प्लान्टबाट ग्यास ढुवानी गरेर ल्याउनुपर्ने व्यवस्था अघि सारेको हो।
निगमको उक्त निर्णयप्रति होटल व्यवसायीहरूले आपत्ति जनाउँदै यसले व्यवसाय सञ्चालनमा थप आर्थिक तथा व्यवस्थापकीय भार पर्ने बताएका छन्। उनीहरूले उपत्यकामा नै सहज आपूर्ति सुनिश्चित गर्न निगमसँग माग गरेका छन्।
यता, नेपाल आयल निगमले भने व्यावसायिक प्रयोजनका लागि ग्यासमा पूर्ण प्रतिबन्ध लगाइएको नभई सीमित आपूर्तिका कारण घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेको छ।
निगमका अनुसार काठमाडौं उपत्यकाका डिपो तथा विक्रेतामार्फत व्यावसायिक प्रयोजनका लागि ग्यास उपलब्ध नगरिए पनि होटल, रेस्टुरेन्ट तथा उद्योगहरूले तराईस्थित रिफिलिङ उद्योगमा खाली सिलिन्डर पुर्याई ग्यास भरेर आफ्नै सवारीसाधनमार्फत काठमाडौं ल्याउन सक्ने व्यवस्था गरिएको छ।
निगमले पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीर क्षेत्रमा सडक भासिँदा ठूला ग्यास बुलेट काठमाडौं आउन नसकेको र त्यसका कारण उपत्यकाको नियमित आपूर्ति प्रभावित भएको जनाएको छ। यस्तो अवस्थामा घरायसी उपभोक्ताको चुलोमा ग्यास अभाव हुन नदिन व्यावसायिक क्षेत्रमा आपूर्तिको प्राथमिकता घटाइएको निगमको भनाइ छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





