सत्य, निष्पक्ष र विश्वसनीय

ग्रीन आर्मी’बारे सरकार र सुरक्षा निकायले स्पष्ट पार्नुपर्छ : ओली

न्युज डेस्क
२०८३ भाद्र १९, शुक्रबार १३:३३

काठमाडौं, १९ भदौ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाजस्तो जनताको भरोसा भएको संस्था राजनीतिक विवादमा पर्न नहुने बताएका छन् ।

शुक्रबार रसुवाका भोटेकोसी बाढीपीडितलाई राहत हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपद्का बेला देखिएको ‘ग्रीन आर्मी’बारे सरकार र सुरक्षा निकायले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

ओलीले रसुवाको बाढीका क्रममा देखिएको ‘ग्रीन आर्मी’ के हो भन्दै प्रश्न गरे । उनले २०७२ सालको भूकम्प तथा कोभिड–१९ महामारीका बेला राहत तथा उद्धारमा सक्रिय जनशक्ति र अहिले देखिएको संरचनाबीच भिन्नता रहेको बताए ।

“०७२ सालमा पनि राहत पुर्‍याएका मान्छेहरू लागेर यो गरेका छौँ । त्यो संस्था ०७२ मा थिएन, कोभिडमा थिएन,” ओलीले भने ।

उनले गत वर्षको बाढी तथा जेनजी आन्दोलनका क्रममा पनि उक्त जनशक्ति युनिफर्ममा नदेखिएको उल्लेख गरे । “त्यो शक्ति युनिफर्ममा देखिएन । अर्कै युनिफर्ममा थियो कि ? सामान्य युनिफर्ममा थियो कि ?” भन्दै उनले ‘ग्रीन आर्मी’बारे गम्भीर रूपमा विचार गर्नुपर्ने अवस्था आएको बताए ।

ओलीले ‘ग्रीन आर्मी’का सदस्यलाई नेपाली सेना तथा सशस्त्र प्रहरीले तालिम दिएको भन्ने कुरा सुनिएको भन्दै त्यसको खर्चको स्रोतबारे पनि प्रश्न उठाए । विद्यार्थीलाई आवधिक तालिम दिने तथा भूतपूर्व सैनिकको छुट्टै फोरम रहेको भए पनि ठूलो संख्यामा रहेका भूतपूर्व सैनिक आफ्नो परिचयका साथ नदेखिएको उनको भनाइ थियो ।

ग्रीन आर्मीको पोसाकमा देखिएका केही व्यक्तिको पोसाकमा सैनिक दर्ज्यानी चिह्नजस्तो देखिएको भन्दै ओलीले आपत्ति जनाए । “आर्मी युनिफर्ममा देखिएको छ । कतिपयको त दर्ज्यानी चिह्न जस्ता देखिन्छन् । भोलेन्टियरको दर्ज्यानी चिह्न ?” उनले प्रश्न गरे ।

उनले आफू प्रधानमन्त्री भएका बेला उक्त संस्था दर्ता भएको भन्ने भनाइप्रति पनि आपत्ति जनाए । संस्था दर्ता गर्ने अधिकार प्रधानमन्त्रीको नभएको स्पष्ट पार्दै उनले त्यसको उद्देश्य र प्रक्रियाबारे स्पष्ट हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले ‘ग्रीन आर्मी’का विषयमा सरकार, रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरीले आधिकारिक रूपमा स्पष्ट पार्नुपर्ने बताए ।

“भित्रभित्रै यी काम केका लागि भइरहेको छ,” ओलीले प्रश्न गर्दै यसको उद्देश्य, संरचना र गतिविधिबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?