अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसममा क्रमिक सुधार हुने
काठमाडौँ, १५ कार्तिक
अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।
माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै रहेकाले मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। मौसममा क्रमिक सुधार हुँदै गए पनि हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना भने कायमै रहनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?
सम्बन्धित समाचार





