सत्य, निष्पक्ष र विश्वसनीय

फेटा घटनाको छानबिन गर्न एएसपी ढकालको नेतृत्वमा तीन सदस्यीय टोली गठन, प्रहरी निरीक्षक लामा जिम्मेवारीमुक्त

न्युज डेस्क
२०८३ कार्तिक १६, आईतवार १४:१२

बारा, १५ कात्तिक

बाराको फेटा गाउँपालिका–३ मा अधुरो आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवाद, प्रदर्शन तथा प्रहरीसँगको झडपबारे स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा छानबिन टोली गठन गरेको हो। टोलीमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्।

टोलीलाई फेटामा भएको विवाद, प्रदर्शन तथा झडपको घटनास्थलमै पुगेर छानबिन गरी आवश्यक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

यसैबीच, घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।

लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको एसपी कुँवरले बताए।

फेटा गाउँपालिका–३ मा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अधुरै अवस्थामा उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका थिए। उनको तिघ्रामा गोली लागेको थियो। घाइते पासवानलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। अस्पतालमा शल्यक्रियामार्फत उनको तिघ्राबाट गोली निकालिएको जनाइएको छ।

घटनापछि आक्रोशित प्रदर्शनकारीले अस्पतालमा ढुंगामुढा तथा तोडफोड गर्नुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरेका थिए। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।

घटनाको निष्पक्ष छानबिनबाट प्रहरीको बल प्रयोग, गोली चलाइएको परिस्थिति तथा झडपका क्रममा भएका अन्य गतिविधिबारे वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?