विवादित देउसी गीतपछि शंकर क्षेत्रीको स्पष्टीकरण : ‘सरकारको विरोध गरेको होइन’
काठमाडौं , २४ कार्तिक
तिहारको अवसर पारेर सार्वजनिक गरिएको देउसी गीत ‘हामीलाई जागिर चाहियो’ विवादमा परेपछि कलाकार तथा मोडल शंकर क्षेत्रीले आफ्नो बचाउ गर्दै स्पष्टीकरण दिएका छन्। गीतमार्फत राजनीतिक नेतृत्वको चरित्रहत्या गरिएको भन्दै आलोचना र बहिष्कारको माग चर्किएपछि क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
आइतबार फेसबुकमा लेख्दै क्षेत्रीले आफूले सरकारको विरोध गर्ने उद्देश्यले गीत नबनाएको दाबी गरेका छन्। देशमा विद्यमान अव्यवस्था र समस्यालाई उजागर गर्दै समाधानका लागि सुझाव दिने उद्देश्यले देउसी–भैलोको माध्यम रोजेको उनको भनाइ छ।

‘मैले सरकारको विरोध गरेको होइन, देशमा अव्यवस्थित समस्यालाई उजागर गर्दै सुल्झाउन देउसी–भैलोमार्फत सुझाव दिएको हुँ। यसलाई यसरी नै बुझ्नुहोला, धन्यवाद,’ उनले फेसबुकमा लेखेका छन्।
लोकगायिका बबिता बानियाँ ‘जेरी’का पूर्वश्रीमानसमेत रहेका क्षेत्रीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त ‘तिहार ब्याटल’ गीतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणसँग जोड्दै नामै किटान गरेका छन्। गीतमा ‘सहकारी पीडितको पैसा फिर्ता चाहियो’ भन्दै राजनीतिक विषय उठाइएको छ। त्यसैगरी प्रधानमन्त्री बालेन शाह, आशिका तामाङलगायतलाई समेत गीतमार्फत व्यंग्य गरिएको छ।
तर, सांस्कृतिक पर्व तिहारको नाममा व्यक्ति विशेषलाई लक्षित गरी गालीगलौज र व्यक्तिगत आक्षेप लगाइएको भन्दै क्षेत्रीको गीतको आलोचना भइरहेको छ। रास्वपाका कार्यकर्ता तथा संगीतप्रेमी दर्शकहरूले गीतप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्।
गीत सार्वजनिक भएपछि क्षेत्रीको युट्युब च्यानल अनसब्स्क्राइब गर्ने तथा उनका सिर्जनालाई बहिष्कार गर्ने अभियानसमेत चलाइएको छ। कतिपय कलाकार तथा सञ्चारकर्मीले यस्ता गीतले लोकसंस्कृति र देउसी–भैलोको मर्यादामा असर पार्न सक्ने भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ध्यानाकर्षण गराएका छन्।
चौतर्फी आलोचना र विरोध बढेपछि क्षेत्रीले भने आफ्नो सिर्जनाको उद्देश्य कसैको व्यक्तिगत विरोध नभई देशमा रहेका समस्या उजागर गर्नु मात्र रहेको स्पष्टीकरण दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





