नेपाल संवत् ११४७ को अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
काठमाडौं, २४ कात्तिक
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४७ को नयाँ वर्ष, म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवत्को नयाँ वर्षले सबैमा सुख, समृद्धि र सद्भावको सञ्चार गर्ने विश्वास व्यक्त गरेका हुन्।

उनले आफ्नो सन्देशमा लेखेका छन्, “आज तिहारको चौथो दिन, आजबाट नै नेपाल संवत् ११४७ आरम्भ भएको छ। नेपाल संवत् ११४७ को हार्दिक शुभकामना!”
म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्व उल्लेख गर्दै अध्यक्ष ओलीले यसले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिने बताएका छन्। त्यस्तै, गोवर्द्धन पूजाले प्रकृति तथा पर्यावरणप्रतिको कृतज्ञता र हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्ने उनको भनाइ छ।
नेपाली समाजका मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यतासँग जोडिएका पर्वहरूको संरक्षण तथा निरन्तरतामा जोड दिँदै उनले यस्ता पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, “हाम्रा मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका यी अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून्।”
अन्त्यमा अध्यक्ष ओलीले म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको शुभकामना व्यक्त गर्दै नेपाल भाषामा ‘न्हु दँया भिन्तुना !’ अर्थात् नयाँ वर्षको शुभकामनासमेत दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





