विपद्का बेला नागरिकलाई सचेत गराउन नयाँ आपत्कालीन चेतावनी प्रणाली परीक्षण
काठमाडौ , ७ मंसिर
भोटेकोशी बाढीबाट पाठ सिक्दै विपद्का बेला नागरिकलाई समयमै सचेत गराउने नयाँ आपत्कालीन चेतावनी प्रणाली नेपाल टेलिकम (एनटीसी) को नेटवर्कमा सफलतापूर्वक परीक्षण गरिएको छ।

गृहमन्त्री सुधन गुरुङका अनुसार राष्ट्रिय आपत्कालीन अवस्था तथा अन्य विपद्का समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले तयार गरिएको उक्त प्रणाली अब नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा परीक्षण गर्ने योजना छ।
प्रस्तावित प्रणालीमा दुई प्रकारका चेतावनी सेवा समावेश छन्। ‘सेल ब्रोडकास्टिङ’ प्रणालीमार्फत मोबाइल टावरको सीमित कभरेज भएका क्षेत्रमा समेत सूचना प्रवाह गर्न सकिनेछ। त्यस्तै, छुट्टै राष्ट्रिय आपत्कालीन नम्बरबाट स्वचालित फोन कलमार्फत नागरिकलाई चेतावनी तथा आवश्यक सूचना प्रदान गरिनेछ।
विपद्का समयमा समयमै सूचना प्राप्त हुँदा नागरिकलाई सुरक्षित स्थानमा जान, आवश्यक सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ चेतावनी प्रणालीलाई देशको विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा पूर्वाधारमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





