जनकपुरधाम–अयोध्याबीच विशेष रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन
काठमाडौं, ७ मंसिर
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु भएको छ।
नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन्।

भर्चुअल माध्यमबाट उद्घाटन सम्पन्न भएलगत्तै अयोध्याबाट रेल जनकपुरधामका लागि प्रस्थान गर्नेछ। अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलका उच्च पदाधिकारीहरूले रेललाई बिदाइ गर्ने कार्यक्रम रहेको छ।

नयाँ रेल सेवासँगै नेपालका जनकपुरधाम र भारतको अयोध्या प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन्। यसले दुवै देशबीच धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
भारतीय रेल मन्त्रालयका अनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले दुई देशका धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सहरबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ।
निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट रेल छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट छुटेर जनकपुरधाम आइपुग्नेछ।
यस रेल सेवाले विशेषगरी जनकपुरधामको जानकी मन्दिर र अयोध्याको राम मन्दिर दर्शन गर्न जाने श्रद्धालु तथा पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





