शिक्षण शुल्क समायोजन नभएसम्म विद्यार्थी भर्ना नगर्ने निजी मेडिकल कलेजको चेतावनी
काठमाडौं, ७ मंसिर
निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन नभएसम्म स्नातकोत्तर (पीजी) र स्नातक (यूजी) तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन्।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शिक्षण शुल्क समायोजन र विद्यार्थी सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म भर्ना प्रक्रिया अघि बढाउन नसकिने जनाएको हो। एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई समेत भर्ना प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेको छ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि गत असोज ३० गते सिट निर्धारणसम्बन्धी सूचना जारी गरेको थियो। तर, आयोगले निर्धारण गरेको सिटको आधार र मूल्याङ्कन प्रक्रिया पारदर्शी नभएको भन्दै एसोसिएसनले त्यसको विस्तृत विवरण २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरेको छ।
कुन मापदण्डका आधारमा सिट निर्धारण गरिएको हो, कुन सूचकलाई कति भार दिइएको छ र कुन शिक्षण संस्थाले कति अङ्क प्राप्त गरेका छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने एसोसिएसनको माग छ। साथै, प्रत्येक शिक्षण संस्थाको मूल्याङ्कन विवरण तथा सिट वृद्धि, यथावत् कायम वा कटौती गर्नुको स्पष्ट आधार आयोगको वेबसाइटमा राख्न पनि आग्रह गरिएको छ।
एसोसिएसनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा नियमावलीअनुसार स्नातक र स्नातकोत्तर तहका चिकित्सा शिक्षा कार्यक्रमको शिक्षण शुल्क वास्तविक लागत, मुद्रास्फीति तथा सञ्चालन खर्चका आधारमा वैज्ञानिक र न्यायोचित ढङ्गले पुनरावलोकन गर्नुपर्ने जनाएको छ।
एसोसिएसनका अनुसार शैक्षिक वर्ष २०७८/७९ देखि हालसम्म शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन भएको छैन। यस अवधिमा शिक्षक, नर्सिङ तथा अन्य कर्मचारीको पारिश्रमिक, विद्युत्, इन्धन, प्रयोगशाला, उपकरण, अस्पताल सञ्चालन र पूर्वाधार व्यवस्थापनलगायतका खर्च बढे पनि शिक्षण शुल्क भने पुरानै संरचनामा कायम छ।
पछिल्ला पाँच आर्थिक वर्षमा मुद्रास्फीति करिब २६.६४ प्रतिशत पुगेको एसोसिएसनको दाबी छ। सञ्चालन खर्च निरन्तर बढिरहेको तर शिक्षण शुल्क समायोजन नहुँदा निजी मेडिकल तथा डेन्टल कलेजहरू आर्थिक दबाबमा परेको एसोसिएसनले जनाएको छ।
चिकित्सा शिक्षा आयोगको १८औँ पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरावलोकन कार्यदलले स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको शिक्षण शुल्क पुनरावलोकन गर्न सिफारिस गरे पनि त्यसको कार्यान्वयन नभएको एसोसिएसनको भनाइ छ।
त्यस्तै, आयोग र स्वास्थ्य मन्त्रालयसँग सन् २०२५ मा भएको समझदारीअनुसार सन् २०२६ देखि ऐनअनुसार शिक्षण शुल्क निर्धारण तथा समायोजन गर्ने सहमति भएको भए पनि कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ।
निजी मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, निःशुल्क शय्याको व्यवस्था गर्ने र स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायत सामाजिक दायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले हाल कायम शिक्षण शुल्कबाट संस्था सञ्चालन गर्न कठिन हुँदै गएको दाबी गरेका छन्।
‘शिक्षण शुल्कको वैज्ञानिक र वास्तविक लागतमा आधारित पुनरावलोकन नभएसम्म स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया पूरा गर्न तथा स्नातक तहमा विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गर्न सक्दैनौँ,’ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एसोसिएसनले चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठान र निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि सम्मिलित संयुक्त बैठक तत्काल बोलाउन पनि माग गरेको छ।
यसैबीच, शुल्क तथा सिट पुनरावलोकन नभएको विषयलाई लिएर एसोसिएसनले स्नातकोत्तर तहका आवासीय चिकित्सकले पाउँदै आएको निर्वाह भत्तासमेत रोक्ने निर्णय गरेको उल्लेख गरेको छ। यसले चिकित्सा शिक्षा क्षेत्रको शुल्क विवादसँगै आवासीय चिकित्सकको सुविधासम्बन्धी विषयलाई समेत थप पेचिलो बनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





