सत्य, निष्पक्ष र विश्वसनीय

जनमत पार्टीको निःशुल्क आँखा शिविरमा १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु

न्युज डेस्क
२०८३ मंसिर १२, शुक्रबार १५:००

वीरगन्ज, ११ मंसिर

जनमत पार्टी पर्सा र वीरगन्ज महानगर समितिको संयुक्त आयोजनामा सञ्चालित निःशुल्क आँखा जाँच तथा मोतिबिन्दुको शल्यक्रिया शिविरअन्तर्गत दोस्रो चरणको कार्यक्रम वीरगन्ज महानगरपालिका–१६, इनर्वामा सम्पन्न भएको छ।

तेस्रो वर्षको लोककल्याणकारी अभियानअन्तर्गत आयोजित उक्त शिविरमा १५० जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। परीक्षणका क्रममा ४० जनामा मोतिबिन्दुको समस्या पुष्टि भएको आयोजकले जनाएको छ। मोतिबिन्दु देखिएका सबै बिरामीको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ।

यसै अभियानअन्तर्गत तेस्रो शिविर शनिबार बिहान ८ बजेदेखि वीरगन्ज महानगरपालिका–३२, चोर्नीमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। आयोजकले स्थानीयवासीलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।

अभियान संयोजक रम्भा मिश्रको संयोजनमा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सहसचिव सत्जीव साह, जिल्ला प्रवक्ता सहनवाज राकी, जिल्ला सदस्यहरू तुलसी राम, कृष्ण (लड्डु) प्रसाद कानु, कुसुम सरार्फ, अलि अकबर मियाँ तथा वडा नम्बर–१६ का वडा समिति अध्यक्ष जावेद अन्सारीलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै आयोजकले राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई जनताको सेवा, स्वास्थ्य र सामाजिक कल्याणसँग जोडिनुपर्ने धारणा व्यक्त गरेका छन्।

‘जनसेवा र लोककल्याण नै राजनीतिको मूल उद्देश्य हो’ भन्ने मान्यताका साथ जनमत पार्टी पर्साले विगत तीन वर्षदेखि यस्ता लोककल्याणकारी अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रवक्ता सहनवाज राकीले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?