१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपमा ४५ वर्षीय मौलाना प्रहरी नियन्त्रणमा
रौतहट, ११ मंसिर
रौतहटमा १५ वर्षीया नाबालिग बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपमा ४५ वर्षीय एक मौलाना प्रहरी हिरासतमा परेका छन्।

परोहा नगरपालिका–३, तेजापाकड निवासी मौलाना मुख्ती मिनाहाजलाई नाबालिग बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।
प्राप्त विवरणअनुसार आरोपित मिनाहाजका यसअघि नै श्रीमती र आठ जना छोराछोरी रहेको बताइएको छ। आफ्नै परिवार हुँदाहुँदै नाबालिग बालिकासँग विवाह गरेको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा घटनाले चर्चा पाएको छ।
यस घटनालाई सामसुम पार्न केही राजनीतिक पहुँच भएका तथा प्रभावशाली व्यक्तिहरूमार्फत दबाब सिर्जना भइरहेको आशंकासमेत स्थानीयस्तरमा व्यक्त गरिएको छ। आर्थिक चलखेल हुन सक्ने चर्चा पनि चलेको छ। तर, यससम्बन्धी कुनै पनि विषयको आधिकारिक पुष्टि भएको छैन।
त्यस्तै, सम्बन्धित मदरसामा करिब छ महिनाअघि पनि यस्तै प्रकृतिका तीनवटा घटना भएको दाबी सार्वजनिक भएको छ। उक्त दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी रहेकाले यस विषयमा समेत निष्पक्ष अनुसन्धान गर्न स्थानीयवासीले माग गरेका छन्।
स्थानीयवासीले नाबालिग बालिकामाथि भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। साथै, कुनै पनि राजनीतिक वा आर्थिक प्रभावमा नपरी अनुसन्धान अघि बढाउन र पीडित बालिकाको सुरक्षा तथा गोपनीयता सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
बालिकासम्बन्धी गम्भीर विषय भएकाले अनुसन्धानका क्रममा पीडितको पहिचान गोप्य राख्नुपर्नेमा समेत स्थानीयले जोड दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




