सत्य, निष्पक्ष र विश्वसनीय

पिसाब फेर्न सडक छेउ पुगेका १५ वर्षीय विद्यार्थी बेपत्ता, प्रहरीद्वारा खोजी जारी

न्युज डेस्क
२०८३ मंसिर १३, शनिबार २०:०७

तनहुँ, १२ मंसिर
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट भिरमा खसेर १५ वर्षीय एक विद्यार्थी बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६, चोकबजार निवासी १५ वर्षीय अंकित गुरुङ रहेका छन्। उनी कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना.४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ पिसाब फेर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेका हुन्।

उनी सडकबाट करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलमा पुगेर तत्काल खोजी तथा उद्धार कार्य सुरु गरेको छ। बेपत्ता विद्यार्थीको खोजीका लागि थप आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि विद्यार्थीको अवस्था अझै अज्ञात रहेको छ भने खोजी कार्य जारी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?