सत्य, निष्पक्ष र विश्वसनीय

हिन्दू राष्ट्रको मुद्दामा विरोध गर्दै आएका अमरेश सिंहलाई गृहजिल्लामै कालो झण्डा, हिन्दू सम्राट सेनाका चार कार्यकर्ता पक्राउ

न्युज डेस्क
२०८३ मंसिर १३, शनिबार २०:३९

सर्लाही ,१२ मंसिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले आफ्नै गृहजिल्ला सर्लाहीमा विरोधको सामना गर्नुपरेको छ। ‘मेची–महाकाली अभियान’ अन्तर्गत मलंगवा पुगेका सिंहलाई हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूले टावर चोकमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्।

हिन्दू धर्म तथा हिन्दू राष्ट्रको मुद्दामा सांसद सिंहले सार्वजनिक रूपमा व्यक्त गर्दै आएका धारणा र अडानप्रति असन्तुष्टि जनाउँदै हिन्दू सम्राट सेना नेपालसहित विभिन्न हिन्दू संगठनमा आबद्ध कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले हिन्दू राष्ट्रको पक्षमा नाराबाजी गर्दै सिंहको राजनीतिक तथा वैचारिक अडानप्रति असहमति जनाएका थिए।

सिंह मलंगवा पुगेपछि टावर चोकमा विरोध प्रदर्शन भएको थियो। प्रदर्शनमा ठूलो संख्यामा मानिसहरू भेला भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको थियो। सोही क्रममा प्रहरीले चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ।

प्रहरी नियन्त्रणमा लिइएकाहरूमा अरविन्द महतो, अविनाश झा, रुपेश यादव र कृष्णा यादव रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको स्थानीय स्रोतले जनाएको छ।

घटनापछि पक्राउ परेका कार्यकर्ताको रिहाइको माग उठेको छ। शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकार र पक्राउको कानुनी आधारबारे पनि प्रश्न उठेको छ।

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक असहमति व्यक्त गर्नु नागरिकको मौलिक अधिकार भए पनि प्रदर्शनका क्रममा कानुन उल्लङ्घन भएको भए त्यसको स्पष्ट आधार सार्वजनिक गर्नुपर्ने देखिन्छ।

हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई पक्राउ गर्नुको कारण र उनीहरूमाथि अघि बढाइएको कानुनी प्रक्रियाबारे प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। घटनाबारे प्रहरीको प्रतिक्रिया आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?