पर्सामा लागू औषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय सचेतना कार्यक्रम
वीरगञ्ज, २४ असार
जिल्ला प्रशासन कार्यालय पर्साले सञ्चालन गरेको तीन महिने लागू औषध दुर्व्यसन नियन्त्रण अभियानअन्तर्गत बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठ्ठास्थित श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालयमा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रममार्फत लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक संजिव तामाङले विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा कक्षा ९ र १० मा अध्ययनरत करिब ९४ जना विद्यार्थीलाई लागू औषध दुर्व्यसनका विषयमा प्रशिक्षण तथा सचेतनामूलक जानकारी प्रदान गरेका थिए।
प्रहरी नायब निरीक्षक तामाङले लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, प्रचलित कानुनी व्यवस्था तथा दण्ड–सजाय, रोकथामका उपाय र यसको नियन्त्रणमा विद्यार्थी तथा युवाको भूमिकाबारे जानकारी गराएका थिए। कार्यक्रममा वृतचित्र प्रदर्शन गरी लागू औषध दुर्व्यसनका कारण उत्पन्न हुने सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे समेत जानकारी दिइएको थियो।
कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूले उठाएका जिज्ञासा तथा प्रश्नको सम्बन्धित अधिकारीहरूले उत्तर दिँदै उनीहरूलाई सचेत, जिम्मेवार र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने नागरिकका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालय तहदेखि नै विद्यार्थीमा लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै समुदाय, विद्यालय, प्रशासन र प्रहरीबीचको सहकार्यलाई थप सुदृढ बनाउनु हो।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले लागू औषधको जोखिमबारे बुझ्न र त्यसबाट टाढा रहन महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




