रौतहटमा २८ वर्षीय युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास
रौतहट, ३१ असार
रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
घटनापछि परिवार तथा स्थानीयवासीले उनलाई तत्काल गरुडास्थित एक अस्पतालमा उपचारका लागि पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ। हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते सहनीलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको कारण हालसम्म खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




