सत्य, निष्पक्ष र विश्वसनीय

आजदेखि मनसुन थप सक्रिय, मंगलबारसम्म अति भारी वर्षाको चेतावनी

न्युज डेस्क
२०८३ श्रावण २, शनिबार ०८:१५

काठमाडौं, २ साउन
आजदेखि मनसुन प्रणाली थप सक्रिय हुने भएकाले मंगलबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसोदेखि देशभर अधिकांश स्थानमा बदली रहनेछ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा वर्षा अझ सक्रिय हुने विभागले जनाएको छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण वर्षा गराउने प्रणाली थप सक्रिय भएको विभागले जनाएको छ। जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार उक्त प्रणालीको प्रभाव विशेषगरी आज साँझदेखि मंगलबारसम्म बढी रहनेछ। यद्यपि मधेस प्रदेशको जनकपुर आसपास क्षेत्रमा अपेक्षाकृत हल्का वर्षा हुने सम्भावना रहेको उनले उल्लेख गरेका छन्।

मौसमविद् विनोद पोखरेलले पनि आगामी तीनदेखि चार दिनसम्म देशका धेरै स्थानमा वर्षा हुने तथा पश्चिम नेपाल र कोसी प्रदेशका पूर्वी जिल्लामा भारी वर्षाको सम्भावना रहेको बताएका छन्।

विभागले नदी, खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?