सत्य, निष्पक्ष र विश्वसनीय

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै सांसद सुशील साह कानु

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार १२:३३

वीरगञ्ज, ३ साउन
पर्सा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुशील साह कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउनुभएको छ।

सांसद कानुले वीरगञ्ज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्रमा पुगेर वर्षाका कारण किसानले लगाएको धानबाली तथा जनधनमा पुगेको क्षतिको अवलोकन गर्नुभयो। निरीक्षणका क्रममा उहाँले स्थानीय बासिन्दा, किसान तथा जनप्रतिनिधिसँग छलफल गर्दै पानी निकासको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो।

उहाँले विगतदेखि दोहोरिँदै आएको करिब दुई सय बिगाहा खेतीयोग्य जमिन डुबानको समस्या अब स्थायी रूपमा समाधान गर्ने लक्ष्यका साथ आफू सक्रिय रहेको बताउँदै स्थानीयको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी निकास व्यवस्थापनका लागि आवश्यक पहललाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थलगत निरीक्षणमा स्थानीय किसान, जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य तथा रास्वपा क्षेत्र नं. २ का उपसभापति किशोर यादवलगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?