प्रेमिकालाई बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढे युवक
सर्लाही , ३ साउन
सर्लाहीको मलंगवामा एक युवक प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि उनको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।
जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको हाताभित्र रहेको ८० मिटर अग्लो टावरमा चढेका हुन्।

टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे सुरक्षा निकायलाई जानकारी गराइएको थियो।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गरेका छन्।
“प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। उनलाई सम्झाइ–बुझाइ गरेर सुरक्षित रूपमा उद्धार गर्ने प्रयास भइरहेको छ,” डीएसपी गौतमले भनेका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार प्रयास जारी राखिएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





