सत्य, निष्पक्ष र विश्वसनीय

बैरिया नाका फेरि तस्करीको केन्द्र बनेको आरोप, सुरक्षा संयन्त्रमाथि उठ्यो प्रश्न

न्युज डेस्क
२०८३ श्रावण २, शनिबार ११:२५

बारा , २ साउन
भारतसँग जोडिएको बाराको बैरिया सीमा नाका पछिल्ला केही दिनयता पुनः चोरी–तस्करीको केन्द्र बनेको आरोप स्थानीयवासीले लगाएका छन्। सीमा सुरक्षालाई प्रभावकारी बनाउन पिपरपातीमा डीएसपीको कमान्डमा प्रस्तावित सशस्त्र प्रहरी गुल्म स्थापना गरिए पनि तस्करी नियन्त्रण हुन नसकेको भन्दै सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।

स्थानीय स्रोतका अनुसार बैरिया नाकाबाट दैनिक रूपमा विभिन्न प्रकारका सामान अवैध रूपमा नेपाल भित्रिने क्रम जारी छ। तस्करीमा संलग्न भएको आरोप लागेका व्यक्तिहरूमा भोला, दिनेश, सुनिल तथा भारतीय नागरिक दीपकको नाम स्थानीय तहमा चर्चामा रहेको बताइएको छ। यद्यपि यी आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सीमा सुरक्षाको नेतृत्व प्रस्तावित गुल्मका डीएसपी साजेन्द्र श्रेष्ठले गरिरहेका छन्। सरकारको उद्देश्य सीमा अपराध नियन्त्रण गर्नु भए पनि स्थानीयवासीका अनुसार गुल्म स्थापना भए पनि त्यसको प्रभाव तस्करी नियन्त्रणमा देखिएको छैन। उनीहरूको दाबीमा तस्करी अझ व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

केही समयअघि गृहमन्त्री सुदन गुरुङले पूर्वसूचना बिना बारा र पर्साका विभिन्न सीमा नाकाको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सीमा क्षेत्रमा भइरहेको भनिएको चोरी–तस्करीका गतिविधिबारे जानकारी लिएका थिए। त्यसपछि उनले सम्बन्धित प्रहरी प्रमुखलाई तत्काल नियन्त्रणका लागि निर्देशन दिएको बताइन्छ। निर्देशनपछि केही दिन तस्करी घटेको देखिए पनि अहिले फेरि पुरानै अवस्था फर्किएको स्थानीयको भनाइ छ।

स्थानीयवासीले पटक–पटक सूचना दिँदा पनि नेपाल प्रहरीले प्रभावकारी कारबाही नगरेको आरोप लगाएका छन्। यदि यी आरोप सत्य प्रमाणित भए सुरक्षा निकायको निष्क्रियता वा सम्भावित मिलेमतोबारे निष्पक्ष छानबिन आवश्यक हुने सरोकारवालाको भनाइ छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बारासँग सम्बन्धित अर्को विषय पनि चर्चामा आएको छ। प्रहरी स्रोतका अनुसार प्रहरी नायब निरीक्षक (सई) नारायण लुइँटेललाई जिल्लाको आर्थिक कारोबार समन्वय गर्ने जिम्मेवारी दिइएको दाबी गरिएको छ। स्रोतका अनुसार उनको दरबन्दी पर्सामा भए पनि लामो समयदेखि बारामै कार्यरत रहेको तथा कागजी रूपमा मुसर्वा प्रहरी चौकीमा खटिएको देखाइए पनि व्यवहारमा जिल्लास्तरीय आर्थिक गतिविधि सम्हालिरहेको आरोप छ। यसबारे जिल्ला प्रहरी कार्यालय बाराले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

बैरिया नाका विगतदेखि नै चोरी–तस्करीका हिसाबले संवेदनशील क्षेत्र मानिन्छ। यही कारण सरकारले सीमा निगरानी सुदृढ बनाउन पिपरपातीमा डीएसपी नेतृत्वको सशस्त्र प्रहरी गुल्म स्थापना गरेको थियो। तर जनशक्ति, पूर्वाधार र बजेट थपिए पनि तस्करी उस्तै रहेको आरोपले कार्यान्वयन, निगरानी र जवाफदेहितामाथि प्रश्न उठाएको विश्लेषण गरिएको छ।

स्थानीय सरोकारवालाले बैरिया नाकामा भइरहेको भनिएको तस्करी, त्यसमा संलग्न भनिएका व्यक्तिहरू तथा सुरक्षा निकायको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूका अनुसार सीमामा हुने अवैध कारोबारले राज्यको राजस्वमा प्रत्यक्ष क्षति पुर्‍याउनुका साथै कानुनी शासनमाथि पनि चुनौती सिर्जना गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?