सत्य, निष्पक्ष र विश्वसनीय

६४औँ इन्जिनियर्स डेको अवसरमा वीरगञ्जमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार १०:५०

वीरगञ्ज, ४ साउन
६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजनामा वीरगञ्ज–१४ स्थित BIT Engineering College मा “मानसिक स्वास्थ्य” विषयक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जले क्लिनिकल सहयोग प्रदान गरेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रका अध्यक्ष ई. प्रियांशु कुमार गुप्ताले गर्नुभएको थियो। एशोसिएसनका कोषाध्यक्ष ई. इकबाल हुसेनको समन्वयमा आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, प्राध्यापक, विभिन्न क्षेत्रका इन्जिनियर तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेजका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यसम्बन्धी सहजीकरण गर्दै मानसिक रूपमा स्वस्थ रहन अपनाउनुपर्ने व्यवहार, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन तथा मानसिक लचकता (Resilience) का विषयमा विस्तृत जानकारी दिनुभयो।

उहाँले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मानसिक समस्या लुकाउनुको सट्टा आवश्यक पर्दा समयमै विशेषज्ञसँग परामर्श लिनुपर्नेमा जोड दिनुभयो। साथै, विद्यार्थी तथा पेशाकर्मीहरूमा बढ्दो मानसिक दबाबलाई मध्यनजर गर्दै नियमित आत्महेरचाह, सकारात्मक सोच, पर्याप्त आराम र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। प्रश्नोत्तर तथा अन्तरक्रियात्मक छलफलमार्फत उनीहरूले व्यक्तिगत, शैक्षिक तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्व र यसको व्यवस्थापनबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।

नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रले प्राविधिक दक्षतासँगै मानसिक रूपमा स्वस्थ जनशक्ति निर्माणका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको जनाएको छ। नेशनल मेडिकल कलेज, वीरगञ्जले पनि स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्व निर्वाहलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकले सहजीकरण गर्ने विशेषज्ञ, सहयोगी संस्था तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?